महासंघको सस्थागत विकास र चुनौती

8th-post-featured

लेखनाथ न्यौपाने
नेपाल पत्रकार महासंघ ललितपुर शाखाले १० औं अधिवेशन सम्पन्न गर्दै छ । धर्मरत्न शाक्यको अध्यक्षमा विक्रम संवत २०४९ सालमा गठन भएको यो शाखा यहाँसम्म आइपुग्दा प्रेस र अभिव्यक्ति स्वतन्त्रताका साथै मुलुकको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सफल भएको छ । महासंघ पत्रकारिता पेसामा आवद्ध भएका सम्पूर्ण सञ्चारकर्मीहरूको साझा थलोको रूपमा स्थापित भएको छ । वर्तमान कार्य समितिले नागरिक अगुवा संस्थाको रूपमा रहेको महासंघको यस शाखालाई संस्थागत रूपमा विकास गरी अगाडि बढाउने काममा केही इँटा थप्ने काम गरेको छ । 
२०७० चैत्र ८ मा सम्पन्न नवौँ जिल्ला अधिवेशनले वर्तमान कार्य समिति निर्वाचित गरेदेखि हामीले निश्चित एजेन्डा तय गरेर अगाडि बढ्यौं । हामीले आफ्नो कार्यकालमा कति काम गर्न सक्यौं / सकेनौं, त्यो हामीले भन्दा पनि कार्य समिति बाहिरका साथीहरूले मूल्याङ्कन गर्ने कुरा हो । तीन वर्षे कार्यकाल त्यति लामो होइन तर पनि यो अवधीमा जे गर्न सकियो, त्यो महासंघको संस्थागत विकासमा महत्वपुर्ण छ । एकातिर महासंघको संस्थागत विकास, महासंघलाई श्रमजीवी पत्रकारको पेसागत संगठन, पत्रकारको क्षममता अभिवृद्धि र अग्रज पत्रकारको सम्मान र साना लगानीका मिडियाको प्रवर्धन नै हाम्रो मुख्य कार्ययोजना बन्यो । ती एजेन्डामा केन्द्रित भएर नै हामीले आफना गतिविधि अगाडि बढायौं । 
हामीले जिम्मेवारी सम्हाल्नसाथ २०७२ वैशाख १२ गते महाभूकम्मको महाविपत्तिको सामना गर्नुपर्यो । जसले गर्दा हाम्रा कार्ययोजनामा त्यसको प्रत्यक्ष प्रभाव पर्यो। भूकम्पले ललितपुर जिल्लामा रहेका पत्रकार र मिडियामा पनि पनि प्रभाव पार्यो । हाम्रा सदस्य र पार्षद गरी करिव ४० जना साथीहरू भूकम्पबाट प्रत्यक्ष रूपमा प्रभावित हुनुभयो । भूकम्पपछि हाम्रो पहलमा जुटेका २६ थान पाल हामीले भूकम्प प्रभावित पत्रकार साथीहरूलाई वितरण गर्यौं । 
त्यस लगत्तै संविधान जारी भएपछि उत्पन्न मधेश आन्दोलनबाट श्रृजित सिमानाका बन्दले गर्दा पत्रकार र मिडिया प्रभावित भए । इन्धन अभावमा सहज रूपमा रिर्पोटिङ गर्ने अवस्था रहेन । साथै रेडियोलाई इन्धन अभाव र छापा माध्यमलाई कागजको अभाव झेल्नुपर्यो । त्यसबखत हामीले विभिन्न ठाउँमा डेलिगेसन गएर सञ्चारकर्मीलाई इन्धन उपलब्ध गरायौं । यसरी भूकम्प र तराई आन्दोलनले गर्दा हाम्रो कार्ययोजना पूर्ण रूपमा सफल हुन सकेन । 
व्यावसायिक दक्षता अभिबृद्धि


सिजी मुलरले पत्रकारिता भनेको समसामयिक ज्ञानको व्यवसाय हो भनेका छन् । उनले भनेझैँ पत्रकारमा समसामयिक ज्ञान भएन भने उसले पत्रकारिता पेसालाई अगाडि बढाउन सक्दैन । अहिले जति पनि पत्रकारहरूमाथि आक्रमण भैरहेको छ, त्यसको वास्तविकतामा जाने हो भने व्यावसायिक दक्षताको कमीले नै यस्तो भैरहेको पाइन्छ । त्यसैले पत्रकारलाई समय समयमा आफनो व्यावसायिक सीप र दक्षता सम्बन्धी तालिम चाहिन्छ । अझ अहिलेको पत्रकारिता प्रविधिमा निर्भर छ । यसमा अपडेट हुन सकिएन भने अबको पत्रकारिता सम्भव हुँदैन । यही कुरालाई मध्यनजर गरेर हामीले विभिन्न व्यावसायिक क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्यौं । त्यसैले वर्तमान कार्य समितिले आप्mनो पहिलो काम श्रमजीवी पत्रकारको व्यावसायिक क्षमता अभिवृद्धिलाई राख्यो ।
 श्रमजीवी पत्रकारको क्षमता अभिवृद्धिका लागि यस शाखाका श्रमजीवी पत्रकारहरूलाई ‘द्वन्द्व पत्रकारिता’ तालिम, भूकम्पपछि ‘विपद पत्रकारिता’ तालिम, आइएफजेको सहयोगमा ‘ट्रमा र पत्रकारिता’ तालिम, ‘खोज पत्रकारिता’ तालिम, दुई पटक ३ दिने ‘विकास पत्रकारिता’ तालिम सञ्चालन गर्यौं। यी तालिमहरूले यस शाखाका पत्रकारहरूका लागि निश्चय नै मार्गदर्शनको काम गरेको महशुस हामीले गरेका छौँ ।
  
श्रमजीवी पत्रकार र पारिश्रमिक


श्रमजीवी पत्रकारको हक हितका लागि हामीले एउटा अनुगमन समिति नै बनाएर विभिन्न सञ्चार गृहमा श्रमजीवी पत्रकारको अवस्थाबारे बुभ्mने प्रयास गर्यौं। श्रमजीवी पत्रकारको अवस्था अहिले पनि निकै नाजुक छ । श्रमजीवी पत्रकार ऐन आएको छ, तर त्यो पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । अहिले पनि सञ्चारकर्मीहरू विना नियुक्तिपत्र अत्यन्त कम पारिश्रमिकमा काम गर्न बाध्य छन् । ‘जागिर खाने कि तलब’ भनेर व्यङ्ग्य गर्ने गरिएको छ । ललितपुर शाखाले ६, ७ महिनादेखि तलब नदिने हिमालयन टेलिभिजन, न्युज २४, एभिन्युज लगायतका सञ्चारमाध्यमका पुगी गेटमा ‘ज्याला देऊ’  भनेर धर्ना दिने लगायतका कार्यक्रममा सक्रिय सहभागिता जनायो । 
अहिले न्युनतम् पारिश्रमिक निर्धारण समितिले स्थानीय र राष्ट्रिय स्तरका मिडियाका लागि दुई स्तरमा पारिश्रमिक निर्धारण गरेको छ । पहिलो श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन हुने राष्ट्रिय मिडियाका हकमा १९ हजार ५ सय र १ हजार सञ्चार खर्च, र दोस्रो अन्य सञ्चार प्रतिष्ठानका पत्रकारको हकमा १४ हजार १ सय र ५ सय सञ्चार खर्च निर्धारण गरेको छ । यो ऐनको रूपमा आए पनि सञ्चारगृहहरू लागू गर्न हिचकिचाइ रहेका छन् । एउटा सरकारी खरिदारको तलब २० हजार माथि पुग्दा श्रमजीवी पत्रकारको तलब बल्ल १९ हजार ५ सय निर्धारण हुनु एकदम कम भयो भनेर आलोचना भएको छ । अर्कोतिर यो पनि लागू गर्दा साना मिडिया सङ्कटमा पर्ने भनिँदै छ । अहिले कम्तिमा पनि यो पारिश्रमिक लागू गरिदिने हो भने केही मात्रामा भए पनि श्रमजीवी पत्रकारलाई राहत पुग्ने छ । अहिलेलाई यसलाई उपलब्धी कै रूपमा हेर्नुपर्छ । यो पूर्ण कार्यान्वयन भएपछि यसैको जगमा अझ धेरै पारिश्रमिक बढाउन सकिन्छ । 
साना लगानीका मिडिया 


अहिले साना लगानीका मिडिया सङ्कटमा छन् । हरेक लोकतान्त्रिक आन्दोलनमा अग्रभागमा उभिँदै आएका साना लगानीका मिडिया अहिले कतिपय बन्द भैसकेका छन् भने सञ्ञ्चालन भएका पनि अत्यन्त नाजुक अवस्थामा छन् । विज्ञापन बजार सबै ठुला कर्पोरेट मिडियामा मात्र गएको छ । उनीहरूले खास जनताका एजेन्डा छोडेको आरोप पनि लाग्दै आएको छ  । व्यवसायभन्दा ब्यापारमा मात्र जोड दिएकाले ती सञ्चार माध्यम पूर्वाग्रहभन्दा माथि उठ्न सकेका छैनन् ।  राष्ट्र र राष्ट्रियताका लागि खरो रूपमा उभिँदै आएका साना मिडियाको रक्षा गर्नु एकातीर राज्यको दायित्व हो भने पत्रकार महासंघको पनि मूल जिम्मेवारी हो । साना मिडिया अहिले सरकारले दिने लोककल्याणकारी विज्ञापनले मात्र टिकिरहेका छन् । सामाजिक विविधता र वैचारिक बहुलताका लागि पनि यस्ता मिडिया बचाउन आवश्यक छ । 
ललितपुर महासंघमा धेरै साथीहरू स्वरोजगारको रूपमा आफैं सम्पादक प्रकाशक भएर साना लगानीमा मिडिया सञ्चालन गर्नुभएको छ । उहाँहरूलाई सरकारले प्रदान गर्ने सूचना तथा लोक कल्याणकारी विज्ञापनले ठूलो राहत दिँदै आएको छ । सूचना विभागले प्रदान गर्ने लोक कल्याणकारी विज्ञापन रकम खिलराज रेग्मी नेतृत्वको सरकारका पालमा २५ प्रतिशत रकम बढाइएको थियो । तर त्यो झन्डै एक वर्ष बित्दा पनि सूचना विभागले अनेक बहानाबाजी गरी कार्यान्वयन गरेको थिएन । त्यो बढेको रकम तत्काल कार्यान्वयनको माग गर्दै शाखाको २०७१ भदौ १५ गते बसेको बैठकले त्यसका लागि आन्दोलन गर्ने निर्णय गर्यो ।  
ललितपुर, काठमाडौँ र भक्तपुर शाखा मिलेर संयुक्त आन्दोलन गर्ने निर्णय गर्यौं । आन्दोलनको दोस्रो दिन अर्थ मन्त्रालय घेराउमा अध्यक्ष लेखनाथ न्यौपाने, सचिव हिम बिष्ट, सदस्य माधव घिमिरे, लिलाधर रिमाल र पार्षद ज्ञानप्रसाद पौडेललाई सरकारले गिरप्mतार समेत ग¥यो । सरकारले माग सम्बोधन नगरेपछि सूचना विभागमा रिले अनसन बस्ने निर्णय गरियो । यसमा ललितपुर शाखाको नेतृत्वपूर्ण भूमिका रह्यो । तीन दिनको रिले अनसन पश्चात् सरकारले बढेको रकम निकासा दिने निर्णय गर्यो । यसले साना लगानीका मिडियालाई ठूलो राहत पुग्यो । 

पत्रकार कल्याणकोष र पुरस्कार


हामीले पत्रकार कल्याणकोषको आवश्यकता महशुस गरी रु १ लाखको पत्रकार कल्याण कोष स्थापना गरेका छौँ । विभिन्न कार्यक्रमबाट बचेको रकमबाट हामीले यो कोष स्थापना गरेका हौँ । पत्रकारिता अत्यन्त जोखिपूर्ण पेसा हो । कुन बेला के हुन्छ भन्न सकिँदैन । अर्कातिर पत्रकारलाई ठूलो रोग लाग्यो भनेर उपचार गर्ने खर्च नभएको हामीले देखिरहेका छौँ । यही कुरालाई मध्यनजर गरेर कोषको ब्याजबाट  कम्तिमा शाखाबाट पनि सहयोग गर्न सकियोस् भनेर हामीले यो कोष स्थापना गरेका हौं । यसको रकम बढाउँदै. १० लाख पुर्याउने लक्ष्य राखिएको छ । आउने नेतृत्वले कोष १० लाख पुर्याउने छ भन्ने अपेक्षा छ । 


ललितपुर शाखाले अग्रजको सम्मान र यो पेसामा आउनेलाई दक्ष बनाउने र यो पेसामा लाग्न प्रोत्साहन तथा हौसला प्रदान गर्ने नीति सुरुबाटै लियो । हाम्रो पहलमा जिल्ला विकास समितिसँगको सहकार्यमा हरेक वर्ष स्थानीय समाचार लेख्ने पत्रकारलाई शाखाको छनोटमा पुरस्कृत गर्ने व्यवस्था गरेका छौँ । यस्तै शाखाको संस्थागत विकासमा महत्वपूर्ण योगदान दिने पत्रकारलाई सम्मान र पुरस्कृत गर्ने उद्देश्यले १५ हजार रुपैयाँको ललितपुर पत्रकारिता पुरस्कार स्थापना गरेका छौँ । यो पुरस्कार अग्रज पत्रकारको सम्मानमा स्थापना गरिएको हो । 

सामाजिक उत्तरदायित्व


बीएन आहुजाले पत्रकारिता भनेको सामाजिक क्रियाकलापको त्यो भाग हो, जसको सरोकार समाजसँग सम्बन्धित समाचार र दृष्टिकोणको वितरणसँग हुन्छ भनेका छन् । उनले भनेझैँ पत्रकारिता एक पेसा भए पनि जसको सम्बन्ध हरेक सामाजिक जीवनसँग हुन्छ । पत्रकारिताको उद्देश्य पनि एउटा आदर्श समाज निर्माण गर्नु नै हो । पत्रकार पनि सम्बन्धित समाजका सदस्य हुन् । समाजका हरेक गतिविधिमा उसको पनि संलग्नता अनिवार्य हुन्छ । अझ नेपाल पत्रकार महासंघ नागरिक अगुवा संस्था हो । यही मान्यताका साथ हामीले चार हप्ता बाग्मती सरसफाइ अभियानमा सहभागिता जनायौँ ।


 भूकम्पपछि राहत नपुगेको ठाउँमा राहत पुर्याउन पहल गर्यौं। यस्तै निर्धारित समयमा सहमतिको संविधान जारी गर्न दबाब दिने उद्देश्यले सिडियो कार्यालयमा ज्ञापन पत्र बुझाउने, विभिन्न नेताहरूको घरमै पुगेर साक्षात्कार गर्ने लगायतका काम गर्यौं ।  पत्रकार महासंघ हामी आएको केही महिनामै तत्कालीन सरकारले अदालतको अवहेलनासम्बन्धी कानुन निर्माणको नाममा प्रेसमाथि नियन्त्रण हुने विधेयक संसदमा लगेपछि हामीले विरोध कार्यक्रम सञ्चालन गर्यौं। जुन विरोधले गर्दा संसदको छलफलमा जानु अघि नै राजपत्रमा प्रकाशित भई जनताको रायका लागि सार्वजनिक गरियो । साथै यसले अदालतको अपहेलनालाई न्यायाधीशको स्वविवेकीय अधिकारमा नछोडी विशिष्टीकृत गरियो र विधेयक जस्ताको तस्तै पारित नहुने भयो । 
संस्थागत विकास


 हामी यो शाखामा भित्रदाँ दैनिक कार्य सञ्चालनका लागि र अफिस भाडा तिर्ने समेत पैसा थिएन । कार्यालयमा भाडा नतिरेको कारण ताल्चा झुन्डिएको थियो । यस्तो अवस्थामा हामीले विभिन्न सरकारी निकायसँग सहकार्य गरेर अगाडि बढ्ने योजना बनायौँ । विभिन्न उपसमितिहरू बनाएर विभिन्न सरकारी निकायमा प्रस्ताव पेश गर्यौं। जसअनुसार जिल्ला विकास समिति, उपमहानगरपालिका सहकार्य गर्न तयार भए । अहिले जिविस र उप महानगरपालिकाबाट वार्षिक कार्य योजना मै पत्रकार महासंघका लागि पनि बजेट विनियोजन गर्ने वातावरण बनाउन सफल भयौँ । यस्तै पत्रकार कल्याण कोष स्थापना र ललितपुर पत्रकारिता पुरस्कार स्थापनाले पनि महासंघ ललितपुरको संस्थागत विकासमा सहयोग पुर्याएको छ । 
यस्तै महासंघको आफ्नै वेभवसाइट www.fnjlalitpur.org निर्माण गरिएको छ । यसबाट महासंघका गतिबिधिहरु सवैतीर पुर्याउनुको साथै सवै सदस्यहरुको सम्पर्क तथा बिवरण रहने छ । यसबाट पत्रकार सुद्धिकरणमा पनि सघाउन पुग्ने बिश्वास गरिएको छ । 
वर्तमान कार्य समिति निर्वाचित भएदेखि नै महासंघको भवन निर्माणका लागि जग्गा प्राप्ति प्रक्रियालाई निरन्तरता दिएको छ । खासगरी भूकम्प पछिको सरकारी मापदण्डले गर्दा सरकारी जग्गा प्राप्तिका लागि कठिनाइँ उत्पन्न गरायो । तर पनि हामीले यो प्रक्रियालाई निरन्तरता दिएका छौँ । जग्गा प्राप्तिका लागि भनेर हामीले अग्रज पत्रकार लक्ष्मण बिष्ट, प्रभुनारायण बस्नेत लगायतलाई राखेर उपसमिति निर्माण गरेका थियौँ । यो समितिले जग्गा अध्ययन गर्ने र विभिन्न निकायमा बार्ता गर्ने कार्य अहिले पनि जारी राखेको छ । अब आउने कार्य समितिले यो उपसमितिलाई अझ सक्रिय गराई यो अभियानमा लाग्ने छ भन्ने अपेक्षा छ । 

Comments